३ कार्तिक २०७७, सोमबार

नेकपामा अब दाहाल सर्बशक्तिमान

1+

काठमाडौँ – नेकपामा अब दाहाल सर्बशक्तिमान हुने भएका छन् । नेकपाले अध्यक्ष पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ ।

पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्दै तयार नयाँ प्रस्तावमा सरकारको काम प्रधानमन्त्रीको हैसियतमा ओलीले र पार्टी काम कार्यकारी अध्यक्षको हैसियतमा दाहालले गर्ने उल्लेख छ ।

ओली र दाहालवीच बुधबार भएको भेटवार्तापछि स्थायी कमिटी बैठकमा पेश गर्न १५ पृष्ठ लामो प्रस्ताव तयार भएको हो । लगत्तै प्रस्ताव अध्ययनका लागि स्थायी कमिटी सदस्यकहाँ पठाइएको छ ।

जसअनुसार अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने शीर्षकको प्रस्तावमा ‘अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रीत हुने’ उल्लेख छ ।

यसै गरी ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने’ प्रस्ताव छ । अध्यक्षद्वयले पार्टी र सरकारवीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने,’ प्रस्तावमा छ ।

यसअघि कार्यदलले बनाएको प्रतिवेदनमा ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने’ भन्ने थियो ।

नयाँ प्रस्तावमा मूलत भन्ने शब्द हटाइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताले १८ भदौको सचिवालय बैठकमा दुई अध्यक्षको कार्यविभाजनमा मूलतः शब्द रहेकोमा असन्तुष्टि राखेका थिए । दाहाललाई गत मंसिर ४ मै कार्यकारी अधिकार दिए पनि कार्यन्वयन नभएकोमा उनी असन्तुष्ट थिए । (कान्तिपुर)

Facebook Comments
1+