३ कार्तिक २०७७, सोमबार

कोइराला परिवारभित्र महिला र पुरुषलाई विभेद गर्ने चलन थिएन

3+

मेरो जन्म काठमाडौँमा भए पनि बाल्यकाल काठमाडौँ र बनारस दुवैतिर बित्यो ।

बनारसमा हुँदा होस् वा काठमाडौँमा, मैले धेरै समय सुशीला आमा (बीपी कोइरालाकी पत्नी सुशीला कोइराला) सँग बिताएँ।

‘मेलमिलाप नीति’ लिएर नेपाल फर्किनुअघि बाबा (बीपी कोइराला) बनारसमा पनि आउने गर्नुहुन्थ्यो। मलाई त्यस बेलाको केही सम्झना अहिले पनि छ।

हावाहुरीजस्तो आगमन

उहाँ घर (बनारस वा काठमाडौँ) मा आउँदा ‘हावाहुरी’ जसरी आउने गर्नुहुन्थ्यो।

‘हावाहुरी’ जसरी मैले किन भनेकी भने उहाँ आउँदा धेरै कार्यकर्ता र पार्टीका मान्छे पनि सँगै आउँथे।

भेट्न आउनेको पनि लर्को हुन्थ्यो। फेरि उहाँ गएपछि घर ‘आँधीपछिको सन्नाटा’ जस्तो सुनसान हुन्थ्यो।

बाबा आउँदा एकछिनका लागि के भयो के भयो जस्तो अर्कै वातावरण बन्थ्यो ।

सुशीला कोइरालाको उत्तर

जब बीपी घर आउनुहुन्थ्यो र जानुहुन्थ्यो मलाई उहाँबारे बुझ्न मन लाग्थ्यो।

अनि लुटपुटिँदै सुशीला आमालाई सोध्थेँ, “सुशीला आमा, बीपी बाबाको सबैभन्दा ठूलो कुरा के हो?”

सुशीला आमा भन्नुहुन्थ्यो, “उहाँ आफ्नो बारेमा मात्र सोच्नुहुन्न, देश र जनताका लागि सोच्नुहुन्छ। उहाँले सबैलाई चित्त बुझाएर निर्णय गर्नुहुन्छ। उहाँले सबैलाई कुरो बुझाउन सक्नुहुन्छ।”

उहाँको आगमन र सुशीला आमाका कुरा सुनेपछि बाबाप्रति त्यसै बेला पनि सम्मान बढेर आउँथ्यो।

उहाँ मेरो हजुरबा नै भए पनि किनकिन त्यसै बेला मलाई उहाँ महान् हुनुहुन्छ जस्तो लाग्थ्यो।

त्यो सम्भवतः म सुशीला आमासँग धेरै निकट भएर भएको होला ।

पहिलो सन्देश

बीपी घरमा आउँदा बाल्यकालमै मैले पाएको पहिलो सन्देश भनेको नारी होस् वा पुरुष सबै बराबर हुन् भन्ने हो। त्यो सन्देश कसरी मैले पाएँ भन्ने पनि एउटा रोचक घटना छ।

घर आएका बेला एक दिन अलि एकान्तजस्तो भएको थियो । कार्यकर्ता र अन्य मानिसहरू खासै थिएनन् । त्यसबेला बाबाले सुशीला आमाको गोडा दबाइदिएको मैले देखेँ।

मैले अचम्म मानेर बीपीलाई सोधेँ, “बाबा तपाईँले किन सुशीला आमाको गोडा दबाइदिनुभएको ?”

उहाँको जबाफ थियो: “किनकि म उहाँलाई असाध्यै माया गर्छु। कहिलेकाहीँ मात्र भेट्न पाउँछु नि त ! उहाँको गोडा दबाएर म सानो मान्छे हुन्न नि !”

उहाँको यो भनाइले मेरो बाल मस्तिष्कमा ‘महिला र पुरुष बराबर हुन्’ भन्ने छाप पारिदियो।

यसै पनि कोइराला परिवारभित्र महिला र पुरुषलाई विभेद गर्ने चलन थिएन र छैन पनि।

बीपीकी प्यारी नातिनी

म पहिली नातिनी भएर पनि हुनसक्छ बीपीले मलाई असाध्यै माया गर्नुहुन्थ्यो।

म उहाँलाई बाबा भन्थेँ। उहाँले माया गरेर मलाइ ‘मुझु’ वा ‘मनी’ भन्नुहुन्थ्यो। कहिलेकाहीँ मनीषा पनि भन्नुहुन्थ्यो ।

उहाँलाई केटाकेटीसँग कुरा गर्न खुब मन पर्थ्यो। कुराकानी हुँदा ‘उपन्यास पढ्नू’ भन्नुहुन्थ्यो। खेलकुदमा पनि प्रोत्साहन गर्नुहुन्थ्यो।

उहाँले मलाई भनेको सम्झना छ: “म सबैभन्दा धेरै सुशीलालाई माया गर्छु, त्यसपछि तँलाई गर्छु।”

अन्तिम दिनहरू

मलाई बीपीका अन्तिम दिनहरूको पनि सम्झना छ। त्यस बेला हामी चाबहिलको घरमा बस्थ्यौँ।

त्यहाँ बसुन्जेल हाम्रो परिवार संयुक्त थियो। फराकिलो कम्पाउन्ड र बगैँचा भएको घरको पहिलो तलामा बीपी बस्नुहुन्थ्यो।

उहाँको घाँटीमा क्यान्सर थियो। त्यसले गर्दा एकापट्टि दुलो परेको थियो। त्यो घाँटीको दुलोमा प्रत्येक दिन सफा गर्नुपर्थ्यो। तर म त्यो सफा गरिदिन सक्ने भएकी थिइनँ, सानै थिएँ।

त्यसपछि चेतना दिदी (बीपी कोइरालीकी छोरी, मेरी फुपू) अनि म भएर त्यो घरको पहिलो तलामा डिटोल-पानीले सफा गर्थ्यौँ ।

राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ नेपाल आएदेखि नै निकै गल्दै जानुभएको थियो सायद ।

दाहसंस्कारमा सहभागी हुन पाइनँ

सुशीला आमासँग म बनारसमा थिएँ। त्यसै बेला उहाँ बित्नुभएको खबर आयो । मलाई बनारसमै छाडेर सुशीला आमा नेपाल आउनुभयो ।

म कोसँग बनारसमा नै बसेँ मलाई अहिले सम्झना छैन । तर मैले बीपीको अन्तिम दर्शन गर्न पाइनँ।

पछि सुशीला आमा बित्दा पनि म दाहसंस्कारमा सहभागी हुन पाइनँ। म जोसँग सबैभन्दा नजिक थिएँ (गला अवरुद्ध पार्दै) उहाँकै दाहसंस्कारमा सहभागी हुन सकिनँ ।

बीपीको अस्तु

बाबा बित्नुभएको करिब एक दशकपछि मैले बलीवुडमा करीअर बनाउने विचार गरेर मुम्बई जाने निर्णय गरेँ । त्यसबेला मैले आफूलाई धेरै आवश्यक पर्ने कुराहरू घरबाट लिएर गएकी थिएँ ।

तीमध्ये एउटा सानो चाँदीको डिब्बामा रातो कपडाले बेरेर राखेको वस्तु मेरा लागि निकै महत्त्वपूर्ण थियो । त्यो बाबाको अस्तु थियो । त्यो मलाई सुशीला आमाले दिनुभएको थियो ।

मुम्बई जाँदा पनि मैले बाबाको अस्तु लगेँ। अनि आफ्नो फ्ल्याटको एउटा कुनामा जतनसँग राखेँ । मैले वर्षौँसम्म पनि त्यो अस्तुलाई पूजा गर्थेँ । केही असहज अवस्था आयो कि म “बाबा, मलाई बाटो देखाइदिनूस्” भनेर निकै बेर अस्तुअगाडि हात जोडेर उभिन्थेँ ।

खासमा अरूले घरमा देवीदेवताको पूजा गरे झैँ म मेरा हजुरबाको अस्तुको पूजा गर्थेँ । यो सिलसिला मुम्बई गएपछि पनि पाँच-सात वर्षसम्म चल्यो ।

त्यसपछि चाहिँ एक दिन मैले मुम्बईमै समुद्र किनारामा लगेर विधिपूर्वक नै उहाँको अस्तु सेलाइदिएँ । सायद सानैदेखि बीपीलाई मैले भगवान्‌सरह मानेकाले पो हो कि? उहाँको यादले मात्र पनि मलाई सधैँ हौसला दिइरह्यो ।

तर उहाँ जीवित हुन्जेल एक भएको कोइराला परिवार उहाँको निधनपछि छुटी भिन्न भयो। पार्टीको अवस्था पनि त्यस्तै भयो । त्यो देखेर दु:ख लाग्छ ।

बीपीकी नातिनी

म पछिल्ला वर्षहरूमा नेपालका धेरै गाउँहरूमा जान थालेकी छु। विभिन्न गतिविधि र कामका लागि गाउँगाउँ जाँदा मलाई विशेषगरी ‘बुज्रुग’ मानिसहरूले बीपी कोइरालाकी नातिनी भनेर चिन्नुहुन्छ।

नजिकै आएर शिरमा हात राखेर आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ । कतिलाई लाग्दो हो- आफ्नै पहिचान बनाएको मान्छेलाई अर्काको नाउँबाट किन चिनिनू?

तर यो सबै ‘अहम्’को कुरा हो। मलाई त बीपी कोइरालाकी नातिनी भनेर कसैले चिन्दा निकै गर्व लाग्छ, बीपीको परिवारमा जन्मिएछु भनेर खुसी लाग्छ। मैले उहाँका कारण माया पाए जस्तो लाग्छ ।

एक्ला बृहस्पति

केही दिनअघि मैले बाबाको तस्बिर राखेर ‘म एक्लो बृहस्पति भएँ’ भनेर ट्वीट गरेकी थिएँ । त्यो बाबाकै भनाइ हो। उहाँले जीवनका अन्तिम समयमा यो कुरा लेख्नु भएको हो।

उहाँले आफ्नो परिवार र नजिकका मान्छेका साथै पार्टीका साथीहरूले पनि आफ्नो कुरा बुझेनन् भनेर त्यसो भन्नुभएको रहेछ ।

त्यो बुझ्नका लागि मलाई निकै समय लाग्यो । अहिले आएर उहाँका कतिपय पुस्तकहरू पढ्दै गर्दा धेरै कुरा बुझ्दैछु ।

उहाँलाई जसले पनि आजको जस्तो दिन (जन्मजयन्ती) मा मात्र सम्झिन्छन् । तर के हामीले उहाँको नीति, मूल्य र मान्यतालाई पछ्याएका छौँ ?

के नेपाली काङ्ग्रेसले पछ्याएको छ ? नेताहरूले पछ्याएका छन् ? यो मनन गर्नुपर्ने विषय हो।

सक्रिय राजनीति गर्दिनँ होला

मेरो जन्म नै यस्तो परिवारमा भयो कि मैले चाहेर पनि राजनीतिबाट छुटकारा पाउन सक्दिनँ।

हामीले खेलौनासँग रमाउने केटाकेटी उमेरमा नै राजनीतिका कुरा सुन्यौँ। हातमा खेलौना हुँदैनथ्यो तर घरमा राजनीतिक बहस हुन्थ्यो।

त्यसैले गर्दा राजनीतिसँग सम्बन्धित विषयको प्रश्नले मलाई पक्कै पनि कहिल्यै छाड्दैन। तर सक्रिय राजनीतिमा जानेबारे मैले अहिले सोचेकी छैन। सायद म लाग्दिनँ पनि होला।

बीपी कोइरालाबाट सिक्नुपर्ने कुरा

बीपीबाट अहिलेको पुस्ताले सिक्नुपर्ने कुरा धेरै छन्। सबैभन्दा पहिलो कुरा त ‘म नेपाली हुँ’ भन्ने सबैले ठान्नुपर्‍यो ।

नेपाली हुनुमा सबैले गर्व गर्नुपर्‍यो। हामी आफू काम गर्दैनौँ तर अरूले गरेन भनेर मात्र दोष देखाउँछौँ ।

सरकारले गरेन भन्छौँ । त्यसो भन्ने भन्दा पनि ‘मैले देशलाई के दिएँ?’ भनेर सोच्नुपर्छ।

आफू असल भए देश पनि बन्छ, समाज पनि बन्छ । न्यूज एजेन्सी

Facebook Comments
3+