१० कार्तिक २०७७, सोमबार

कविता – “खुसी किन्ने सहर”

8+

म खोज्दैछु
दुःख बेचिने सहर
अनि खुसी किन्ने बजार,
सुनेको थिएँ
पैसाले संसार किन्न सकिन्छ
मलाई मन छ
त्यो खुसी खरिद गर्न
जुन खुसीले मेरा मुस्कुराएका अधर
कहिल्यै नओइलाओस्

छ कोही व्यापारी ?
आफ्नो खुसी बेचेर
मेरो आदिम दुःख किन्ने
कोही भए,
आँट बटुलेर आउनू
हिम्मत लिएर आउनू,
आउनू मेरो सामुन्ने
म सस्तो दाममा मेरा बेचैनी बेच्छु
र महङ्गो मोलमा किन्छु तिम्रा आदिम चैन

छ कोही साहसी ?
चितामा आफूलाई सजाउन सक्ने
कोही भए साहस गरेर आउनू
मेरो सामुन्ने
संसारकै महङ्गो दाम तिरेर
त्यो साहस किन्न तयार छु

हरदिन डर लाग्छ
जानु छ, यो डेरा छोडेर
त्यो डर पनि बिक्री गर्नुछ
कुनै निडर व्यापारीलाई
कोही भए आउनू
मुटु दह्रो पारेर
आउनू मेरो सामुन्ने
संसारकै सस्तो दरमा
म बेच्न तयार छु, मेरो अनन्य डर

पैसामा बिक्ने हरेक कमजोरी
म सुपथ मूल्यमा बिक्री गर्छु
अनि हरेक खुसीका पलहरु
महङ्गो दाम तिरेर खरीद गरिरहन्छु ।

-अनुपा रिजाल

Facebook Comments
8+
प्रतिक्रिया दिनुहोस