७ कार्तिक २०७७, शुक्रबार

छोडेर गयौ

3+

भमराले चुसेको गुलाब हैन तिमीलाई
म त चोखो माया दिन चाहन्थेँ
केटाकेटीले खेलाउने गुडिया झैँ हैन तिम्लाई
म त मेरो दिलको रानीमहल मा सजाउन चाहन्थेँ
त्यसैले त होला मलाई छोडेर गयौ 
जोडेको नाता तोडेर गयौ ।।

लहर्यायो होला तिम्रो माया, फैलियो होला सबैतिर
म त तिम्लाई मेरा हरेक पाइलामा लहर्याउन चाहन्थेँ
फक्रियो होला तिम्रो माया, बसायो होला वरपर
म त तिम्लाई मेरो मायाको बगैंचामा फुलाउन चाहन्थेँ
त्यसैले त होला नाता तोडेर गयौ
मलाई एक्लै छोडेर गयौ ।।

गर्नु थिएन रोमान्स, खेल्नु थिएन तिम्रो देहसंग
म त जुनी जुनी मेरा आँखाका नानीमा खेलाउन चाहन्थेँ
छोड्नु थिएन कहिल्यै, टाढिनु थिएन तिमीसँग
म त सयौं जुनी नटुट्ने मायाको बीज छर्न चाहन्थेँ
त्यसैले त होला बाटो मोडेर गयौ
जोडेको नाता तोडेर गयौ ।।

हँसाउने ले जान्दो रैछन जिन्दगीभर रुवाउन पनि
म त सधैं तिम्रो मुहारमा सूर्य उदाएको हेर्न चाहन्थें
फुल्न सिकाउनेले जान्दो रैछन फुलेको त्यो फुल चुड्न पनि
म त फुल्दै गरेको कोपिलाको पत्रपत्र फेर्न चाहन्थेँ
त्यसैले त होला मलाई छोडेर गयौ
जोडेको नाता तोडेर गयौ ।।

म त तिम्रो चाहना रैछु, पुरा भयो, छोड्यौ, गयौ
म त तिमीलाई जुनीभर अँगालोमा बेर्न चाहन्थें
म त तिम्रो इच्छा रैछु, हेर्यौ अनि फालिदियौ
म त तिमीलाई मेरो जीन्दगीको पन्नामा कोर्न चाहन्थेँ
त्यसैले त होला नाता तोडेर गयौ
मलाई एक्लै छोडेर गयौ ।।

बाटोका काँडा पन्छ्याए झैँ, साइड लगाएर गयौ
म त तिमीलाई हृदयका कुना कुनामा अटाउन चाहन्थेँ
हाम्रो प्रेम सम्बन्ध देखि डम्म भएर अघाएर गयौ
म त तिमीलाई दुनियाँको कुनजरबाट हटाउन चाहन्थेँ
त्यसैले त होला बाटो मोडेर गयौ
मलाई एक्लै छोडेर गयौ
जोडेको नाता तोडेर गयौ ।।

धन्यवाद !!

छोडेर गयौ

– लक्ष्मण गिरी

Facebook Comments
3+