१७ मंसिर २०७७, बुधबार

हाम्रो समाज महिला र कानुन

म एक महिला भएर र्हेदा मेरो आफ्नो अधिकार जमाउने घर छैन, बस्ने बास छैन अनि म एक सधैँ अरुको दास भएर कति बसु नबसु कहाँ जाउँ यस्तैयस्तै तर्क आउँछन् मनमा र यस्ता कुरालाई प्रमाणीत गर्दछन् समाजका विभिन्न घटनाले । म, मेरो वरिपरीको समाज  र परिबेशलाई केलाएर हेर्दा महिलाको आफ्नो दुखः पर्दा के रहेछ त आखिर । समाजका विभिन्न घटनाले यसको चित्रण गरिरहेको छन् । हिजो एक घटना आयो कि सामाजिक रुपमा हामीले र कानुनले पनी परिकल्पना नगरेको जुन महिलाका लागि सबै भन्दा पीडादायी रहन्छ । हाम्रो मुलुकी ऐनले अहिले दोस्रो विबाहको कल्पना गरेको छैन तर समाजमा आज पनि यस्तो घटना घटिरहेका छन् । सामाजिक मूल्यमान्यता र पितृ सत्ताले जकडिएको समाजमा आज पनि महिलाको आफ्नो बासस्थान छैन । अहिले पनि हाम्रो समाजमा पुरुषलाई बारको डोरो भन्ने गरिन्छ । समाजमा घटेका थुप्रै घटना आज पनि महिलालाई कमजोर र दोस्रो दर्जाको नागरिकको रुपमा र महिला पुरुषको दासको रुपमा हेरिएको पाइन्छ । हाम्रो कानुनले  परिकल्पना गरेन कि बहुविबाह हुनसक्छ र त्यसवेला के गर्ने भनि यस्ता घटना समाजमा छरपस्ट छन् । जो बहुबिबाह गरेर आउछिन् उनि पनि महिला हुन र जो पहिलेबाट उनको पत्नी बनेर बसिरहेकी छन् ति पनि महिला हो तर त्यहाँ सामाजिक दृष्टिमा महिला नै दोषी हुन्छिन् र समाजले उनलाई एक पति दुलाहालाई आफ्नो बसमा राख्न नसक्ने नारिको संज्ञा दिन्छ । र, भन्छ के गरुँ जीवन बिताउन गाह्रो भयो हो उ सँग अर्को ल्यायो । कानुन अनुसार अहिले बहुविबाह अस्वीकार गरिएको छ । दुई श्रीमतीको परिकल्पना गरेको छैन तर समाजमा यस्ता घटना घटिरहेका छन् । जसको फलस्वरुप महिला घर न घाटको भएको अवस्था रहेको छ ।

सविंधानको धारा १७५ मा बहुविबाह गर्न नहुने भनी प्रष्ट लेखिएको छ ः

१) विबाहित पुरुषले वैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विबाह गर्नु हुँदैन ।

२) कुनै पुरुष विबाहीत भनि जानिजानि त्यस्तो पुरुषसँग कुनै महिलाले विबाह गर्नु हुँदैन ।

३) उपदफा १ वा २ मा जुनसुकै कुरा लेखिएको भए पनि पति पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विबाह गर्न सक्नेछन् ।

४) उपदफा १ वा २ बमोजिमको कसुर गर्ने गराउने गर्नेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

५) उपदफा १ बमोजिमका सबै विबाह स्वतः बदर हुने कुरा उल्लेख गरेको छ ।

सवींधानमा जे उल्लेख गरिएको भए पनि समाजमा यस्ता घटना घटिरहेका छन् ।

श्रीमान् श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको बीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताका कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुसीले भरिएको जिन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सीमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुनथाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आफ्नो सम्बन्ध बचाउनका लागि विशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरारको कारण पत्ता लगाउनका लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।

यो सर्भेमा २४ प्रतिशत मानिसहरूले व्यक्तिगत समस्या या बिरामी, २३ प्रतिशत दाइजो र २१ प्रतिशत एकआपसमा तालमेल नमिल्ने कारण बताएका थिए । यसको साथै क्रुरता, धोका जस्ता कारण पनि थिए । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एकअर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसका लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्छ कुरा परिबारलाई जोडि राख्नु पर्ने हो तर सानोतिनो मनमुटावमै सम्बन्धबाट टाढा हुने र अर्को विबाह गर्ने सामाजिक परम्पराले हिंसा बढिरहेको छ । अब त्यो पुरुषसँग आउने महिला पनि दोषी हुन् र पुरुष पनि कानुन अनुसार त्यो विबाह स्वतः बदर हुन्छ अब भन्नुस् त्यो महिला विबाह गरिन्न सामाजिक परम्परा अनुसार सिउँदो रङ्गाइन अनी चुरापोते मन्दिरमै लगाए पनि आखिर विबाह भइहाल्छ, तर कानुनको नजरमा त्यो विबाह मानिदैन । उता पहिलो पत्निले उजुरी हालिन् भने उनी बस्ने घर रहँदैन उनलाई खानेबस्ने समस्या आइहाल्छ । उनी त्यो परिवार कानुन अनुसार अंश लिएर बस्न सक्छिन् न उनी त्यहाँ विद्रोह गर्न जसका कारण उनी मनलाई बाँधेर रुनु सिवाय केही रहँदैन भने अर्कातिर महिला कानुनी अधिकारमा पत्नि हुन पाउँदिनन् र कानुनको नजरमा उनी रखेल ठहरिन्छीन् भने अझ गर्भवती भइसकेपछि पनी बहुविबाह मानिने छैन । दुबैतिरबाट महिला पीडित रहनेछन् । आर्थिक रुपमा सम्पन्न वा आफ्नो खर्च पुर्याउन सके मात्र पनि कतिपय अवस्थामा यति पीडा नहँुदो हो । महिला आर्थिक रुपमा सक्षम हुन यसकारण पनि आवश्यक देखिन्छ । अर्कातिर यो कुरा गरिरहँदा महिला पुरुष लिभिङ् टुगेदरको सोच नै राखेको भए पनि यहाँ महिला सक्षम र सवल नभएको खण्डमा र यसको खास अर्थ नबुझी ललाई फकाई प्रेम जालमा पारी पछि गर्भवती भएको खण्डमा र केटाले हेरिहालेन भने झन् विकराल हुनसक्ने देखिन्छ । घरघरमा विना बाउका छोराछोरी र विना पतिका छोरी हुने हो कि यसतर्पm पनि सम्बन्धित सबैको ध्यान जाओस् र यस सम्बन्धी चेतना जगाउने काम गर्नु आवश्यक देखिन्छ ।

सक्दा राम्रो हँुदा र सबैले माया गर्दासम्म त ठीकै छ जीवन आफ्नो खुसी मेटाएर अरुका लागि जहिले परिवार समाज सम्झँदासम्म आफ्ना इच्छा र आकंक्षाहरुको बली चढाएर अरुका लागि बाच्दासम्म सव राम्रो हुन्छ । तर समय अनुसार यस्तो गर्न नसक्ने प्रतिक्रिया दिएमा चोथालेको संज्ञा दिँदै पारिवारीक रुपमा तिरस्कार सहनु पर्ने गरेको पाइन्छ । एकै घरमा एकै हैसियत राख्ने महिला र पुरुष बीच आज पनि विबेद छ । घरको काम सबै महिलाले गर्नुपर्ने देखिन्छ ।

जन्ममा एक घर हुन्छ जब महिलाको उमेर बढ्दै जान्छ त्यो घरबाट अर्को घरमा सार्ने तरखर भइरहन्छ । र अन्ततः घर परिर्वतन हुन्छ । अब उनले आफ्नो भनिरहेको घरलाई पराइको सम्झेर जुन घरमा गइन् त्यो घरलाई आफ्नो भनेर जन्मको नाता र बालापनलाई भुलेर एक जिम्मेवार व्यक्ति बन्नु पर्छ । आफ्ना इच्छा र आकंक्षाहरूको तिलाञ्जलि दिएर अरुका लागि सबथोक सुम्पिनु पर्छ । तर पनि त्यो घर भन्नका लागि मात्र उनको हुन्छ । हिजोसम्म आफ्नो सम्झेको बालापनको सम्पूर्ण समय खर्चेको त्यो घर जसले जन्म दियो आफू नसुतेर नखाएर मायाका साथ हुर्कायो उनीहरू त पराई भइसके अव यता जुन घर आयो त्यो घर पनि उस्तै आफ्नो बनाउन प्रयत्न एक महिला सधँै वचन र मानसिक पीडाका बीच दिन कटाई रहेकी हुन्छिन् । अरुको खुसिमा रमाउन पर्ने बाध्यता छँदैछ ।

हाम्रो समाजमा एक पटक विबाह भएपछि जतिसुकै अपमान र अत्याचार दुव्र्यबहार सहनुपर्ने देखिन्छ । दोस्रोपटक सम्मानका साथ विबाह गर्ने पुरुष भेटिदैन आदर्शका कुरा गरेरमात्र पेट पनि भरिदैन आबश्यकता पूरा हुँदैन । सवै समाजिक मूल्यमान्यतामा र संस्कृति परम्परागत साेंचले महिला अहिले पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेरिएको छ । यस्ता बाध्यतालाई आफ्नो भाग्य भन्दै सहेर जीवन बिताउन पर्ने संस्कारले असंख्य नारीहरूले नारकीय जीवन बिताइरहेका छन् । त्यसैले महिलाले आफ्नो हकका लागि आन्दोलन गरे अहिले केही अधिकार स्थापित हुन सफल भएका छन् । तर त्यो कागजी अधिकार स्थापित गर्न र व्यवहारमा लागू गर्न अझ कति समय लाग्ने हो अझ कति अन्याय र अत्याचार अनि अधिकार स्थापित गर्न अझ कति लडाई लड्नु पर्ने हो । महिलामाथि अझ कति अन्याय अत्याचार हुने हो कति बाहिर कति घरभित्र आफूले आफूलाई असुरक्षित महसुस गर्नु पर्ने हो । न महिला काम गर्ने ठाउँमा सुरक्षित छन् न सार्वजनिक यातायात न कुनै सभा समारोह न विद्यालय न त घरमा नै महिला सुरक्षित छन् । कानुनी रुपमा आफ्नो मन नलागे छुट्टिएर बस्न पाइने अधिकार दिइए पनि सामाजिक रुपमा यो स्थापित हुनसकेको छैन । सामाजिक संस्कार मूल्यमान्यता र मुख्य रूपमा आफ्नो आयस्रोत नहँुदा महिला आफ्नो कानुनी अधिकार प्राप्ति गरिहाले पनि एक्लै जीवन बिताउन कठिन महसुस गरिरहेका छन् । यसका उदाहरण थुप्रै रहेका छन् । कहिं कतै कसैसँग हाँसी बोलेको आरोप त कतैघरमा राम्रो गरे नगरेको अरुको इच्छा पूरा भए नभएको सबै उसैको जिम्मेवारी हुन्छ । कतै कहीँ कमजोरी भए या कसैलाई चित्त बुझेन भने सबै घर निकाल्ने छोड्ने धम्की आज पनि हाम्रो समाजमा विद्यमान रहेको छ । जसका विरुद्ध आवाज उठाउन आर्थिक समृद्ध हुनु आजको आवश्यकता रहेको छ । सबै मिलेर यस्ता कुसंस्कार र कुरीति हटाउन सव्य समाज निर्माण गर्न आफ्नो ठाउँबाट प्रयत्न गर्नु आवश्यक छ । जबसम्म महिला र पुरुष बीचको विभेद रहिरहन्छ । तबसम्म हामीले सोचेको समतामुलक समाज निर्माण हुनसक्दैन । सबै मिलेर समाज विकासका लागि मानसिकता परिर्वतन आजको आवश्यकता हो ।  

प्रतिक्रिया दिनुहोस