७ कार्तिक २०७७, शुक्रबार

कविता – वेपत्ता मान्छेको नाउँमा

8+

एकाएक हरायो मान्छे
मान्छेहरुकै भीडबाट
मान्छेहरुकै सहरमा

कुनै पत्रिकाको हेडलाइन बनेन
कुनै पनि चोकमा चर्चा भएन
मान्छे कसको थियो ?
मान्छे कसले लग्यो ?
मान्छे किन वेपत्ता छ ?

वेपत्ता मान्छेको बारेमा
कुनै पनि किताबमा वेपत्ता कथा लेखिएन
कुनै पनि बाजामा वेपत्ता धून बजेन
कुनै पनि सरगममा वेपत्ता राग अलापिएन
कुनै कामुक नायिकाको मालफङ्सनले रन्किएको सोसल मिडियामा
कुनै बुद्धिजीवीको स्टाटस पनि आएन

के मान्छे मान्छेकै पिँजडामा कैद छ ?
कि मान्छे मान्छेकै जेलमा बन्दी छ ?
वा मान्छे मान्छेकै भेषमा अदृश्य छ ?

वेपत्ता मान्छेले कखरा पढेको स्कुलका भित्ता फेरिएका छन्
वेपत्ता मान्छेका पैतालाले कोरिएका गोरेटाहरु बुढिएका छन्
वेपत्ता मान्छेले पुल बाँधेका नदीमुनि
जोडिएका सपनाका लहरहरुले
बोकेर हुत्तिएकै छन जिन्दगीका अनगिन्ति नदीहरु

तैपनि मान्छे हराएको खबरबाट
बेखबर मान्छे
मस्त निदाएकोे छ
अज्ञानताको बर्को ओढेर
वर्तमानको सियाँलमा

वेपत्ता मान्छेको नाउँमा
एउटा जिउँदो कविता पत्ता लागेको छ ।


नरेन्द्रकुमार नगरकोटी

Facebook Comments
8+