२४ बैशाख २०७८, शुक्रबार

दुई सिमेन्ट र एभरेष्ट ग्यासको एनएस चिह्न रद्द

गुणस्तर तथा नापतौल विभागले रिलायन्स सुपरटेक सिमेन्ट र इन्टरनेसनल सिमेन्टको नेपाल गुणस्तर चिन्ह (एनएस) प्रमाणपत्र रद्द गरिदिएको छ । दुईवटै सिमेन्टले इजाजतपत्र स्थगनको वेलामा पनि आफ्नो उत्पादन बिक्रीवितरण जारी राखेको भन्दै विभागले प्रमाणपत्र रद्द गरिदिएको हो ।

यता विभागले गुणस्तर मापदण्डअनुसारको एलपीजीका सिलिन्डर नभएको भन्दै एमरेस्ट ग्यासको पनि एनएस प्रमाणपत्र रद्द गरेको छ ।

विभागले अग्नि र सर्वोत्तम सिमेन्टका पनि संकलित नमुनाहरू तोकिएको गुणस्तर मापदण्डअनुसार नभएको भन्दै ती सिमेन्ट उद्योगलाई पनि स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार अग्नि सिमेन्टको पीपीसी र ओपीसी दुवै खालका सिमेन्टका संकलित नमुना तोकिएको मापदण्डभित्र नभएकाले स्पष्टीकरण सोधिएको हो । पीपीसी सिमेन्टमा ३ दिनको ‘कम्प्रेसिभ स्ट्रेन्थ’को मान १६ एमपीए हुनुपर्ने र ७ दिनको ‘कम्प्रेसिभ स्ट्रेन्थ’को मान २२ हुनुपर्नेमा त्योभन्दा कम पाइएको विभागले जनाएको छ ।

यस्तै ओपीसीमा पनि ‘आईआर’ मान तोकिएको अनुपातभन्दा अधिक पाइएको विभागले जनाएको छ । सर्वोत्तम सिमेन्टको पनि ओपीसी सिमेन्टमा ‘आईआर’ मान तोकिएको अनुपातभन्दा अधिक पाइएपछि स्पष्टीकरण सोधिएको हो ।

विभागले कमला रोलिङ मिल्सलाई पनि एफइ ५०० टीएमटीबार तोकिएको मापदण्डभन्दा कमजोर देखिएपछि स्पष्टीकरण सोधेको छ ।

0
Would love your thoughts, please comment.x
()
x