३ जेष्ठ २०७८, सोमबार

परराष्ट्रले भन्यो – ‘चीनले नेपाली भूमि मिचेको छैन’

काठमाडौँ : सरकारले उत्तरी छिमेकी राष्ट्र चीनले नेपाली भूमि नमिचेको स्पष्टीकरण दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो ।

‘समाचारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाइएको भनिएको छ। उक्त मन्त्रालयले त्यस्तो कुनै प्रतिवेदन नै अस्तित्वमा नरहेको बताएको छ र सीमाको विषय उक्त मन्त्रालयको क्षेत्राधिकारमा पनि पर्दैन,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ । ‘नेपाल-चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचारहरूमा उल्लेख भएअनुसार हराइरहेका भनिएका चीनसँगको सीमाका स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइका कारण निर्माण नै गरिएका थिएनन् ।’

सीमामा कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । 

0
Would love your thoughts, please comment.x
()
x