३ कार्तिक २०७७, सोमबार

क्वारेन्टिनका कथा र स्थानीय सरकारको व्यस्तता

0

कैलाली : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा दिनप्रतिदिन बढ्दै छ ।

कोरोनाकै त्रासले विदेशबाट स्वदेश र स्वदेशका शहरबाट पनि लाखौँ मानिस गाउँ फर्केका छन् । गाउँ फर्केका नागरिकको व्यवस्थापनमा स्थानीय सरकार केन्द्रित भइरहेको छ ।

यो महामारीको समयमा स्थानीय सरकारले गरेको व्यवस्थापनमा स्थानीयवासीले पनि साथ दिएका छन् । आफ्नो पालिकामा प्राप्त स्रोतसाधनको उपयोग गरी काम गरिरहेका स्थानीय सरकारका कामप्रति कतै प्रशंसा भएको छ भने कतै अव्यवस्थाका कारण आलोचनाको शिकार पनि भएको देखिएको छ ।

भजनी नगरपालिकाका सामाजिक अगुवा रतन रेग्मी अहिलेको अवस्थामा स्थानीय सरकार नभएको भए मानिसलाई बचाउनै मुस्किल हुने भन्दै स्थानीय सरकारले गरेको कामको प्रशंसा गरे । “हजारौँ मानिसको व्यवस्थापन गरी स्थानीय सरकारले धेरैको ज्यान बचाएका छन्”, रेग्मीले भने, “जति पनि भूमिका देखिएको छ, त्यसमा सबैभन्दा बढी स्थानीय सरकारका कारण देखिएको छ, देशमा स्थानीय सरकारको संरचना नभएको भए अवस्था निकै विकराल पनि हुन सक्थ्यो ।”

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बाहिरबाट आएका मानिसको व्यवस्थापनमा सबैभन्दा बढी चुनौती देखिएको बताउँदै विद्यालयले समाजलाई कोरोनाको सङ्क्रमण फैलिनबाट जोगाएको बताए ।

“विद्यालयले कोरोना सङ्क्रमण फैलिनबाट बचाएको छ, हजारौँलाई अन्य कुनै ठाउँमा व्यवस्थापन गर्न सकिने अवस्था थिएन, विद्यालयको संरचनाले धेरै सजिलो भयो”, नगरप्रमुख चौधरीले भने, “सबै जनप्रतिनिधि र स्थानीयवासीको सहयोग, सहकार्यले आज सम्भव भएको हो, अहिलेको अवस्थाले हामीलाई ठूलो पाठ सिकाएको छ ।”

स्थानीय सरकारलाई यतिखेर आउँदो वर्षको बजेट विनियोजनको चटारो शुरु भइसकेको छ । एकातर्फ बजेटको व्यस्तता शुरु भएको छ भने क्वारेन्टिनमा रहेका नागरिकको स्वास्थ्य सुरक्षाका लागि पनि स्थानीय तहको जिम्मेवारी झन् थपिँदै गएको छ ।

कोरोनासँगै बजेटको चटारो

सङ्घ र प्रदेशले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याइसक्दा स्थानीय सरकार पनि नयाँ बजेटको गृहकार्यमा जुटेका छन् । एकातिर कोरोना भाइरसको त्रासबाट समाजलाई मुक्त बनाउन बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर असार १० भित्र नीति तथा कार्यक्रमसहित बजेट ल्याइसक्नुपर्ने प्रावधानका कारण स्थानीय सरकारलाई यतिखेर भ्याइ नभ्याई देखिएको छ ।

कैलालीको टीकापुर नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नयाँ बजेटको मापदण्ड बनाई काम शुरु गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बजेटको काम गर्ने कि क्वारेन्टिनको भन्दै काम गर्न समस्या हुन थालेको बताए ।

उनले कार्यपालिकाको बैठक बस्न नसकेका कारण आउँदो वर्षको बजेटका लागि खासै तयारी हुन नसकेको बताए । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईँले चौबीसै घण्टा नागरिकको व्यवस्थापनमा समय बित्ने गरेकोले दोहोरो काम गर्न समस्या भएको बताए ।

उनले आउँदो वर्षको बजेटको विषयमा छलफल शुरु भएको बताउँदै पुरानै योजना सम्पन्न हुन नसकेको अवस्थामा तिनै योजनालाई प्राथमिकता राखिने बताए ।

सबैजसो स्थानीय तहले पुराना काम गर्न नसकिएका योजनालाई निरन्तरता दिने भएका छन् । विगतका वर्षहरुमा गाउँटोलमा समुदायका मानिसलाई जम्मा गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्दै आएका स्थानीय तह सीमित पालिकाभित्रका सरोकारवाला व्यक्तिलाई बोलाएर सुझाव–सल्लाह लिन थालेका छन् । आउँदो वर्षको बजेटमा सङ्घ र प्रदेश सरकारले जस्तै स्थानीय सरकारले पनि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्ने बताएको छ भने सुझाव सङ्कलनका क्रममा समेत नागरिक अगुवाहरुले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सुझाव दिने गरेका छन् ।

कैलालीमा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिकासहित १३ स्थानीय तह रहेका छन् । हाल जिल्लाभर ४५२ क्वारेन्टिन छन् भने करिब १९ हजारभन्दा बढी मानिस ती क्वारेन्टिनमा बस्दै आएका छन् ।

कैलालीमा हालसम्म १०३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये अधिकांश भारतबाट आएका हुन् । यहाँ हजारौँ व्यक्ति भारतबाट स्वदेश फर्किएका छन् । भारतले रेल सेवा शुरु गरेपछि नेपाल आउन सहज भएसँगै यहाँका स्थानीय स्वदेश फर्किन थालेका हुन् र अहिले पनि आउने क्रम जारी नै छ ।

कोरोनाका कारण विद्यालयको भौतिक विकास

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्थानीय पालिकाहरुले विद्यालयलाई क्वारेन्टिन बनाएका छन् । क्वारेन्टिन बनाउँदा न्युनतम मापदण्ड अपनाउनुपर्ने व्यवस्था भएसँगै विकास हुन नसकेका विद्यालयमा अहिले केही मात्रामा भए पनि भौतिक संरचना बनेको देखिएको छ । स्थानीय पालिकाले विद्यालयमा चाहिने खानेपानी, बिजुली, पङ्खा, शौचालयलगायतका साधनहरु थपेका छन् ।

भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटाले क्वारेन्टिनका कारण विद्यालयको क्षेत्रको विकास थप भएको बताइन ।

“एक विद्यालयमा कम्तीमा पनि रु दुईदेखि तीन लाख खर्च भएको छ, पहिले विद्यालयको संरचना निर्माणका लागि पहुँच चाहिन्छ भन्ने सुनिन्थ्यो अहिले समान भयो”, नगरउपप्रमुख देवकोटाले भने, “कहिल्यै विकासको सूचीमा नपरेका बिद्यालयको पनि संरचना थप भएका छन्, कोरोनाले विद्यालयको पूर्वाधार विकासमा भने सहयोग गर्‍यो ।”

क्वरेन्टिनमा मानसिक समस्या

टीकापुरका ४८ वर्षीय चुहानसिंह नेपाली जनज्योति आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका छन् । उन शुरुमा सामान्यरूपमा यहाँ आए पनि केही दिनमै उनको व्यवहार बदलिन थाल्यो । अहिले उनी एकोहोरो जस्तो भएका छन् ।

प्रायः झोक्राएर बस्नुहुन्छ । व्यवहार पनि फरक–फरक देखाउँछन् । दैनिक मजदुरीमा परिवार पाल्दै आउनुभएका नेपालीमा मानसिक समस्या देखा पर्न थालेका छन् । भारतमा मजदुरी गरेकै भरमा परिवार पाल्दै आउनुभएका सुकुम्बासी बस्ती रहेको गणेशपुर शिविरका नेपालीमा यस्ता लक्षण देखिएका हुन् ।

नेपाली एउटा उदाहरण मात्र छन् । टीकापुर नगरपालिका वडा नं १ का ५० वर्षीय जगत दमाई हैदरावादबाट नेपाल आए । टीकापुर पोलिटेक्निक इन्स्टिच्युटको क्वारेन्टिनमा बसेको दुई दिनमै उनलाई मानसिक समस्या देखा पर्न थाल्यो ।

श्रीमतीसहित क्वारेन्टिनमा रहेको जगत सिँढीबाट हाम फाल्न खोज्ने, बर्बराउने, बेलाबेला रुने, कराउने र बोलाए पनि नसुन्नेजस्ता फरक गतिविधि गर्न थालेपछि क्वारेन्टिनमा बसेका त्रसित भएको बताएका छन् ।

लामो समयसम्म लकडाउनमा रहेर स्वदेश फर्किएका अधिकांशमा यस्ता लक्षणहरु देखा पर्न थालेका छन् । क्वारेन्टिनको १४ दिनको बसाइ, समयमा हुन नसकेको स्वाब परीक्षण, कोरोनाबारे फैलिएको त्रास, आर्थिक र सामाजिक कारणले उनीहरुमा मानसिक समस्या देखिएको हो । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका अधिकांश निम्न आर्थिक आय भएका वर्गका छन् ।

उनीहरुमा कोरोनाले आर्थिक मन्दी हुने देखिएको भन्दै के खाने, कसो गर्ने भन्ने तनाव पनि देखिएको छ । रोजीरोटी गुमाउनु पर्दाको पीडालेसमेत उनीहरुमा त्यस्ता समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अनावश्यक डर, त्रास, रोगसम्बन्धी कम ज्ञान, नकारात्मक सोचले क्वारेन्टिनमा बसेका डिप्रेसनका बिरामीलाई प्रायः समस्या देखिएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मसिंह बटाला बताए । “कोरोनाको त्रासपछिको अवस्थाबारे पर्याप्त काउन्सिलिङ हुन नसक्नु, समुदायका मान्छेसँग भेटघाट नहुनु, समाजबाट तिरस्कृत हुने डरजस्ता कुराले यस्ता समस्या देखिएको हो”, उनले भने, “सामाजिक, मानसिक र भौतिकरूपमै उनीहरुलाई जगाउन आवश्यक छ ।”

त्यतिमात्र नभई क्वारेन्टिनमा महिला असुरक्षित हुन थालेपछि झनै मानसिक समस्या थपिँदै गएको महिलाहरुले बताउने गरेका छन् । उनीहरुले आफूहरुलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिनुपर्ने, होइन भने होम क्वारेन्टिनका लागि घर पठाउनसमेत आग्रह गरेका छन् ।

क्वारेन्टिनपछि कहाँ जाने ?

क्वारेन्टिनमा बसेका अधिकांश नागरिक भारतबाट आएका छन् । उनीहरुलाई क्वारेन्टिनबाट घर फर्केपश्चात कसरी घर गुजारा चलाउने भन्ने अर्को पीरलो पर्न थालेको छ ।

परिवारको लालनपालनका लागि एक मात्र रोजगारीको आधार मान्दै आएका सुदूरपश्चिमका अधिकांश नागरिकले रोजगारी गुमाएका छन् । यही अवस्थामा पुनः रोजगारीका लागि भारत जाने अवस्था नरहेको बताउँदै क्वारेन्टिनमै रहेका बाबु साउदले कोरोनापछिको बाटो के हुने ? भन्ने चिन्ताले समेत मानसिक समस्या देखा पर्न थालेको बताए ।

‘गाउँ फर्केकाहरुसँग जग्गा जमिन भए त्यसैमा केही उब्जाएर जीविकोपार्जन गर्न सक्लान् । तर हामीसँग त न जग्गा छ, न त अन्य कुनै विकल्प ।” बाबुले भने, “विकल्प एउटै थियो भारत गएर मजदुरी गर्ने घर व्यवहार चलाउने । त्यो बन्द भएको छ । उहाँसँगै लाखौँ नागरिक कोरोनापछिको जीवनयापनका लागि समेत चिन्तित् छन् ।”

तत्काल राज्यले केही गर्न नसके कोरोनाको त्रासभन्दा भोकको त्रासले मर्नुपर्ने अवस्थाको सिर्जना हुने खेमराज खनाल बताउँछन् । “सरकारले तत्काल कि त काम देओस्, कि राहत”, खनालले भने, “होइन भने भोकभोकै मर्नुपर्ने अवस्था आउने निश्चित छ ।”

Facebook Comments
0