२४ बैशाख २०७८, शुक्रबार

कृषिमा यान्त्रीकरण, आधुनिक बन्दै किसान

प्युुठान : प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले पोखरेलको अग्रसरतालाई खुबै ख्याल गरे ।

४५ मुरी धान उत्पादन हुने पोखरेलको खेतबाट ट्र्याक्टर लगाएर जोतेको वर्ष ५१ मुरी उब्जनी भयो । त्यसपछि छिमेकीमा समेत यान्त्रीकरणमा आर्कषण थपिएको छ । समयको बचत र कम लगानीमा ठूलो क्षेत्रफलमा एकै दिन काम हुने भएपछि कृषियन्त्रले सहजता ल्याएको उहाँ बताउनुहुन्छ ।

भर्खरै सरकारी जागिरबाट अवकाशप्राप्त गरेका पोखरेलको परिवारका सदस्यहरु काम र अध्ययनको सिलसिलामा घर बाहिर रहेका छन् । घरमा पशुचौपाय पाल्न पनि नसक्ने भएपछि खेत जोत्ने समयमा हरेक वर्ष गाउँभरी गोरु खोज्न हैरान भएका पोखरेल अहिले ट्र्याक्टरको प्रयोगले ढुक्क हुनुहुन्छ । ‘सात रोपनी जमिनमा ५ हल गोरु नभई कामै थिएन’, पोखरेलले भन्नुभयो, ‘दुई घण्टामा ट्र्याक्टर लगाएर सबै सकियो ।’

हली गोरुले खेत जोत्दा पहिले आठ हजार ५ सय रूपैयाँ पर्दथ्यो तर ट्र्याक्टरले जोत्दा त्योभन्दा सस्तो र छिटो पाँच हजार ८सय रूपैयाँ सकिएको अनुभव उहाँले सुनाउनुभयो । विगत वर्षमा ठूलो ट्र्याक्टरले रोपाइँ गर्दा बढी माटो निस्कने भएकाले उब्जनी पनि बढी भएको उहाँ बताउनुहुन्छ ।

जिल्लाका अन्य अगुवा किसान पनि कृषिमा आधुनिकीकरण गर्दै कृषियन्त्रप्रति आकर्षित भएका छन् । ठूलो ट्र्याक्टर, हातेट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रमा किसानको आकर्षण थपिँदै गएको छ । सङ्घ, प्रदेश, स्थानीय सरकारले विभिन्न समूह तथा सहकारीमार्फत कृषियन्त्र वितरण गर्दा गाउँ–गाउँसम्म कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ ।

समूह सहकारीले समेत अनुदानका कृषियन्त्रको व्यवस्थापन गर्दै किसानलाई सहजता प्रदान गरिरहेको अगुवा किसान अध्यक्ष गीता जिएम बताउनुहुन्छ । ‘किसानको पहुँचमा कृषियन्त्र पुग्दा सहजता बढ्दै गएको छ’, अध्यक्ष जिएमले भन्नुभयो, ‘बाली लगाउनेदेखि भित्र्याउनेसम्म कृषियन्त्रको माग बढ्दो छ ।’ परम्परागत साधनबाट खेतीपाती गर्दा व्यावसायिक बन्न नसकिने र समयअनुसार कृषिमा यान्त्रिकरणको खाँचो भएको सहकारीका अध्यक्ष जिएम बताउनुहुन्छ ।

पहाडका टुप्पोमा समेत सडकको पहुँच पुगेपछि कृषियन्त्र पुग्नु सामान्य भएको छ । कुनै ठाउँमा ठूला र कुनै ठाउँमा पावर ट्रिलर, मिनीट्रिलर पुगेका छन् । सानायन्त्र पहाडमा पुग्दा थप सहजता भएको छ । पछिल्लो समय गाउँमा पशु चौपाया पाल्नेको सङ्ख्या घट्दो छ । गोरुले जोत्दा हप्तौँ लाग्ने किसानका बारीमा कम समयमा कृषि बाली लगाउने र भित्र्याउन सकिने भएपछि आकर्षण थपिएको जिएमको भनाइ छ ।

चालू आर्थिक वर्षमा मात्रै जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान जोन) बाट २१, प्रदेश सरकार कृषि ज्ञान केन्द्र, दाङबाट १०, प्युठान नगरपालिकाबाट १२, झिमु्रक गाउँपालिका बाट १३ गरी ५६ थान मिनीटेलर किसानलाई वितरण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १ सय ६८, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धानजोन) २१, प्युठान नगरपालिका १२, माण्डबी २, नौबहिनी ४ र झिमरुक गाउँपालिकाबाट १३ गरी २सय २० मिनीट्रिलर वितरण गरिएको थियो ।

त्यसैगरी साविकको जिल्ला कृषि विकास कार्यालयबाट ५० भन्दा बढी र पछिल्लो समय प्रदेश, स्थानीय तहले गरी जिल्लाभर करिब ३ सय बढी मिनीट्रिलर र पावरट्रिलर किसानले अनुदान प्राप्त गरेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँगाउँमा कृषियन्त्र अनुदानमा पाएपछि किसानले व्यक्तिगत लगानीमा समेत खरिद गर्न थालेका छन् । परिश्रम र लागत कम र उत्पादन बढ्ने भएकाले किसान मिनीट्रिलर, पावरट्रिलर, धान काट्ने रिपर, रोटाभेटर, मकै छोडाउने मेसिन (मेइज सेलर), सिकेचर (कैची), कोदोको थ्रेसर, हजारी, स्प्रेलगायतका आधुनिक कृषियन्त्रको प्रयोगमा आकर्षित भएको श्रेष्ठको भनाई छ ।

शुरु–शुरुमा अगुवा किसानले मात्रै यन्त्रको प्रयोग गरे पनि पछिल्लो समयमा अन्य किसानमा यान्त्रिकरणप्रति आकर्षण बढेको प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना ‘धान जोन’ प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण शुरु भएदेखि नै पाँच स्थानीय तहका २४ वटा वडामा १ सय बढी मिनीट्रिलर वितरण गरिसकेको छ । ‘समयको बचत, कामको प्रभावकारिता, उत्पादन तथा उत्पादकत्व बढ्छ’, खनालले भन्नुभयो, ‘सोही कारण पनि किसानमा यान्त्रीकरण मोह बढेको छ ।’

0
Would love your thoughts, please comment.x
()
x