८ कार्तिक २०७७, शनिबार

सर्लाहीका सबै स्थानीय तह मध्ये लालबन्दीमा मात्र कोरोना भेटिएन

0

सर्लाही : जिल्लामा शनिबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार शनिबार साँझ सम्ममा सर्लाहीमा १२ जना संक्रमित थपिएका पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

उनका पीसीआर प्रविधिबाट स्वाब परीक्षण गराउँदा इश्वरपुर नगरपालिका ४, हरिवन नगरपालिका २, विष्णु गाउँपालिका २ बागमती नगरपालिकाका १, बसबरिया गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पाइएको हो।

शनिवारका १२ जना मध्ये २ जना मलंगवास्थित नर्सिङ कलेजको आइसोलेसनमा बसिरहेकाको दोस्रो पटक स्वाब परीक्षण गराउँदा पनि पोजेटिभ नै रिपोर्ट आएका व्यक्तिहरु रहेका प्रमुख जिल्ला अधिकारी जिसीले बताए।

सर्लाहीमा शनिबारसम्म गरी कोरोना संक्रमितको संख्या ४८१ पुगेको छ। शुक्रबार जिल्लामा ५८ जना संक्रमित थपिएका थिए। विष्णु गाउँपालिकामा १०, हरिपूर्वा नगरपालिकामा ५, बसबरियामा ४, ईश्वरपुर नगरपालिकामा ३, सबै भन्दा धेरै हरिवन नगरपालिकामा २९, पर्सा गाउँपालिकामा २, ब्रम्हपुरी गाउँपालिकामा २ र कौडेना गाउँपालिकामा ३ जना संक्रमित थपिएका थिए।

पछिल्लो तीन दिनदेखि हरिवनमा दैनिक संक्रमित फेला परिरहेका छन्। लालबन्दीबाहेक सर्लाहीका सबै पालिकाहरुमा कोरोना संक्रमित फेला परिसकेका छन्। जिल्लामा दिनहुँ संक्रमित बढ्दै गएपछि आइसोलेसन बेडको अभाव बढ्दै गएको छ।

संक्रमितहरुलाई सम्बन्धित पालिकाहरुमै आइसोलेसन कक्ष निर्माण गरेर राख्न थालिएको छ। यस्तै जिल्लाका विभिन्न स्थानबाट स्वाब संकलन गरी टेस्ट गर्न पठाएको धेरै दिन भइसक्दासमेत रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसिरहेकाहरु निराश भएका छन्।

Facebook Comments
0