९ माघ २०७७, शुक्रबार

‘कफी उत्पादन वृद्धि कार्यक्रम’ लागू

झिमरुक : कफीमा व्यावसायिकता ल्याउनका लागि प्रदेश नं. ५ सरकारले ‘कफी उत्पादन वृद्धि कार्यक्रम’ ल्याएको छ । .

कफीको प्रशस्त सम्भावना देखिएको प्यूठान तथा अर्घाखाँचीमा यसको उत्पादन बिस्तार र विकासका लागि प्रदेश सरकारले कफी उत्पादन वृद्धि कार्यक्रम’ ल्याएको हो । यसका लागि जिल्लाको सरुमारानी गाउँपालिका–४ बड्डाँडामा चिया तथा कफी विकास कार्यालय स्थापना गरिएको छ ।

कफी उत्पादन, प्रशोधन, बजार व्यवस्थापन, प्राविधिक सहयोग, तालिम सञ्चालन, कर्जा, बीउ, बेर्ना, मल वितरणजस्ता कार्यक्रममा किसानलाई सहयोग गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा आएको कार्यालयका निमित्त प्रमुख एकराज सन्ज्यालले बताउनुभयो । प्यूठानमा सामान्यरूपमा केही क्षेत्रमा कफी लगाउने गरिए पनि यसलाई व्यावसायिकरूपमा खेती गर्न र उत्पादनमा वृद्धि गर्नका लागि कार्यालयले आफ्ना गतिविधि अगाडि बढाएको उहाँले बताउनुभयो । “जिल्लाका केही क्षेत्रमा कफीको महत्व नबुझ्दा र प्राविधिक ज्ञान नहुँदा बोट नै उखेलेर फालेको पाइयो”, कार्यालय प्रमुख सन्ज्यालले भन्नुभयो, “अबका दिनमा प्राविधिक ज्ञान दिइ उत्पादन वृद्धिमा सघाउ पु¥याउने छौँ ।”

प्यूठानका ऐरावती गाउँपालिका—१ दाङवाङ, सरुमारानी गाउँपालिकाको हंशपुर, तिराम, जस्पुरमा व्यावसायिकरूपमा कफी लगाइएको छ भने यस स्थानमा कफी नर्सरीसमेत सञ्चालन गरिएको छ । यस क्षेत्रका करिब २० रोपनी क्षेत्रफलमा कफी लगाइएको कार्यालय प्रमुख सन्ज्यालले बताउनुभयो । एक रोपनी क्षेत्रफलमा कफीको १०० बिरुवा लगाउन सकिन्छ । बिरुवा रोपिएको तीन वर्षमा कफीले फल दिने गर्दछ । अघिल्लो वर्ष केन्द्रीय कार्यालयमार्फत करिब छ हजार ५०० बिरुवा शतप्रतिशत अनुदानमा वितरण गरिएको कार्यालय प्रमुख सन्ज्यालले बताउनुभयो । त्यस्तै चालू आवमा पनि कार्यालयमार्फत करिब पाँच हजार कफीको बिरुवा वितरण गरिने योजना रहेको उहाँले बताउनुभयो ।

सरुमारानी–६ तिराममा कफी पकेट क्षेत्रमा २५ किसानले कफीका बिरुवा रोपेका छन् । अघिल्लो वर्ष २०० व्यक्तिलाई कफीका बिरुवा वितरण गरिएको थियो । ऐरावती गाउँपालिका–१ अमिली च्यानधनारा बस्तीमा ४५ वर्षीय खुमप्रसाद बेल्बासेले कफीखेती गर्नुभएको छ । उहाँले विसं २०६९ देखि कफीखेती गर्दै आएको बताउनुभयो । विसं २०६८ मा तालिमसँगै विभिन्न जिल्लाको अवलोकनपछि उहाँले गाउँमा कफीखेती शुरु गर्नुभएको हो । प्रतिबोट रु १० का दरले १०० बोटबाट कफीखेती शुरु गर्नुभएका बेल्बासेको पछिल्लो समय कफीखेती बढेको छ । झिमरुक औद्योगिक एकीकृत विकास केन्द्रको सहयोगमा नर्सरी राखेर कफी उत्पादन गरेको उहाँको भनाइ छ । बेल्बासेले आफ्नै आठ रोपनी जग्गामा कफीखेती गर्दै आउनुभएको छ । उहाँले लगाएको कफी अहिले लटरम्म फलेको छ । उहाँले अघिल्लो वर्ष तीन क्विन्टल कफी उत्पादन गर्नुभएको बताउनुभयो ।

कफी उत्पादन भए पनि यस वर्ष बन्दाबन्दीका कारण बिक्रीवितरण गर्न नपाएको बेल्बासेको गुनासो छ । उहाँले अघिल्लो वर्ष गाउँसँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मीलगायतका जिल्लामा लगेर कफी बेच्नुभएको थियो ।

नेपाली कफी कोरिया र जर्मनीमा

झन्डै ८१ वर्ष पहिले गुल्मीबाट शुरु भएको कफी खेती अहिले ४३ जिल्लामा पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ५ सय १३ मेट्रिक टन कफी उत्पादन हुन्छ । गुल्मीको सहकारीबाट कफी कोरिया निर्यात हुन्छ भने ललितपुरबाट जर्मनी जान्छ । सिन्धुपाल्चोकबाट कोरिया जान्छ भने अन्य निजीस्तरबाट पनि जापान, युरोपियन मुलुकदेखि अमेरिकासम्म पुग्ने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

साना किसानबाट माग पूरा हुँदैन

सम्भावना भएर पनि सानातिना किसानमार्फत कफीको विकास हुन नसक्ने बोर्डको दाबी छ । त्यसका लागि ठूला लगानीकर्ता नै यो क्षेत्रमा भित्राउनुपर्ने हुन्छ । “नेपालको सम्भावना र मागलाई पूरा गर्न सानातिना किसान र सानातिना उत्पादनले हुँदैन”, प्रमुख सन्ज्यालले भन्नुभयो, “आज जग्गा जमिन बाँझा हुँदैछन् । माग बढ्दो छ तर ठूलो लगानी छैन ।” कफी खेती गर्छु भन्नेलाई कार्यालयले सहयोग गर्ने उहाँको भनाइ छ । “हामी बाटो, बिजुली, सिँचाइमा सहयोग गर्छै”, यसमा ठूला लगानीकर्ता आएर लगानी गर्नुहोस् भन्ने हाम्रो आह्वान हो”, उहाँले भन्नुभयो ।

उत्पादनशील जमिनको ४ प्रतिशतमा मात्रै खेती

कफी खेति गर्ने किसान बढेका छन् । खेती हुने क्षेत्रफल पनि बढेको छ । तर उत्पादनशील क्षेत्रफलको अति कम जमिनमामात्रै कफी खेती हुने गरेको छ । नेपालमा कफी खेती गर्न अति उत्तम मानिएको जग्गाको ४ प्रतिशत जमिनमा मात्र कफी खेती हुने गरेको तथ्याङ्क छ ।

नेपालमा ११ लाख ९८ हजार, ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिन्छ । त्यसमध्ये पनि ६१ हजार २ सय २८ हेक्टर जमिन कफी खेतीका लागि उत्तम मानिएको छ । अति उत्तम मानिएको क्षेत्रमा व्यावसायिक र प्राविधिक हिसाबले कफी खेतीलाई बिस्तार तथा विकास गर्ने हो भने ठूलो फड्को मार्न सकिने सम्भावना रहेको छ । “उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टीकरण गर्न गुणस्तरमा थप सुधार गर्दै लैजानु पर्ने देखिन्छ”, प्रमुख सन्ज्यालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस