३ कार्तिक २०७७, सोमबार

चेपाङका घर बनाउँदै नगरपालिका

0

चितवन : पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न चेपाङका लागि घर बनाउन लागेको छ । पहिलो चरणमा वडा नं ३, ७, ८, ९, १० र ११ का ३९ वटा विपन्न चेपाङ परिवारका लागि घर बनाउन लागेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई कोठा, भान्छा र शौचालय भएको टिनले छाएका घर बनाउन लागेको हो । उच्चस्तरको ब्लकले बारेर बनाउन लागिएको एउटा घरको लागत रु चार लाख ९४ हजार ४०० हुने श्रेष्ठको भनाइ छ । असारसम्ममा काम सक्ने गरी प्रक्रिया अघि बढाइएको छ । दोस्रो चरणमा आउँदो आर्थिक वर्षमा थप घर बनाइनेछ । उनले भने, “लकडाउन नभएको भए करिब ९५ घर बनाउँथ्यौँ ।” बाँकी अर्को वर्ष बनाउने गरी बजेटलाई क्रमागतरूपमा राखिएको उनको भनाइ छ ।

घर निर्माणका क्रममा सामग्री नपुग्ने ठाउँमा ढुवानीमा घरधनीलाई श्रमदान गर्न अनुरोध गरिएको छ । नगरपालिकाले लाभग्राहीका लागि मापदण्ड तयार गरी छनोट प्रक्रिया अघि बढाएको थियो । हाल प्रयोग रहेको घरको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिट, घरभित्रको भुइँ, घरको गारो, घरको छानो, जग्गाको स्वामित्वलगायतका मापदण्ड राखेर सबैभन्दा न्यून अवस्थामा घर भएकालाई छनोट गरिएको हो । त्यस क्षेत्रका चेपाङ समुदायको घर जीर्ण अवस्था र बस्न लायक नदेखिएपछि नगरपालिकाले क्रमशः घर बनाउने योजना अघि सारेको हो ।

Facebook Comments
0