१० कार्तिक २०७७, सोमबार

बाँकेमा मल बिक्री शुरु

0

बाँके : बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो ।

सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगञ्ज भित्र्याएको छ । कम्पनीका नेपालगञ्ज प्रमुख रमेश पौडेलले ७३ मेट्रिकटन युरिया र ९७ मेट्रिक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकाले वितरण प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उनले बताए । लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया शुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगिसक्ने जनाइएको छ । युरियामल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताइएको छ । शाखा प्रबन्धक पौडेलका अनुसार बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ ।

जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिए । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । साल्टट्रेडिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस