३ कार्तिक २०७७, सोमबार

बेपत्ता परिवारका लागि उचित कार्यक्रम ल्याउनुपर्ने

0

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका क्रममा: बेपत्ता भएकाहरूको सन्ततिलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन्।

बेपत्ता योद्धाहरूको स्मृतिमा बुधबार विज्ञप्ति निकालेका प्रचण्डले बेपत्ताका परिवारको अभिभावकत्व र तिनका सन्ततिको शिक्षादीक्षा र भविष्य निर्माणमा सरकारले सहयोग गर्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरेका छन्।

‘बेपत्ताका सन्ततिलाई सहयोग गर्न उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा: बेपत्ता भएका योद्धाको संघर्षका कारण नै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा मुलुक रहेको प्रचण्डको भनाइ छ।

‘बेपत्ता योद्धाहरूको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरूले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरूको जिम्मेवारी हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरूको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याउँछ।’

Facebook Comments
0